काठमाडौं। नेपालबाट बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी द्विपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा श्रम सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सो समझदारीपत्रमा हस्ताक्षर गरे।
बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमतिपत्र लिनुपर्ने, बेलायतमा पाँच वर्षसम्म काम गरेपछि अनिवार्य स्वदेश फर्किनुपर्ने, आईईएलटीएस अनिवार्य गर्नुपर्ने, २० देखि ४५ वर्ष उमेर समूहका नर्स पठाइने, दक्षताका आधारमा उनीहरूले आईईएलटीएसमा ६ अंक ल्याउनुपर्ने सर्त रहेको सचिव अर्यालले बताए।
नेपालबाट बेलायतमा काम गर्न जाने नर्सहरुले बेलायतको श्रम ऐनअनुसार सेवा सुविधा पाउने बेलायती राजदूत पोलिटले जानकारी दिइन्।
सम्झौतापत्रमा उल्लेख भएअनुसार अब नेपालबाट नर्स मात्रै नभएर ल्याब असिस्टेन्ट, अनमी, बीएन नर्स, फार्मेसिस्टलगायत पनि बेलायत काम गर्न जान पाउनेछन्।
बेलायतका काम गर्न पहिलो चरणमा कम्तीमा १ हजार नर्स पठाउने गरी सम्झौता गरिएको श्रम मन्त्रालयले जनाएको छ। रोजगारीका लागि बेलायत जान चाहने नर्सहरूले इन्टरनेसनल इङ्लिस ल्याङ्ग्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) परीक्षामा ६.५ अंक प्राप्त गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
समझदारीअनुसार नेपालका स्वास्थ्य क्षेत्रका जनशक्तिले बेलायतमा रोजगारीका अवसर प्राप्त गर्नेछन्। रोजगारीका लागि बेलायत जाने श्रमिकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन। उनीहरुले पाँच वर्ष बेलायतमा काम गर्न पाउनेछन्।
बेलायत जाने नर्सले वार्षिक ३६ हजार पाउन्ड स्टर्लिङ अथवा वार्षिक करिब ५५ लाख नेपाली रुपैयाँभन्दा बढी कमाउने अवसर पाउनेछन्। यो अवसर स्वास्थ्य क्षेत्रमा काम गरिरहेका नेपालीहरुका लागि निकै लाभदायक हुने अपेक्षा परिएको छ।