काठमाडौं। पशुपति क्षेत्रका महत्वपूर्ण चीजबीजको सङ्ग्रह गरी पशुपतिनाथ मन्दिरअघिको महास्नान घरमा पशुपति सङ्ग्रहालयको शुभारम्भ गरिएको छ।
सङ्ग्रहालयको आज संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरे। सो क्रममा उनले नेपालको इतिहास, संस्कृति र सम्पदालाई विश्वमा चिनाउन यसले सहयोग गर्ने बताए। नेपालमा पर्यटन प्रवद्र्धनका लागि संस्कृति र सम्पदाको संरक्षण गरिनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए।
उनले भने, ‘मूर्त, अमूर्त सम्पदा संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको छ, सम्पदाका माध्यमबाट पर्यटनको विकासलाई सहयोग गर्छ, यसले अर्थतन्त्रलाई टेवा दिन्छ, पशुपतिनाथ मन्दिर आउने धर्मावलम्बी र पर्यटकका लागि सङ्ग्रहालय आकर्षक केन्द्र बन्नेछ।’
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले नेपाल इन्भेष्टमेन्ट बैंकको रु पाँच करोड सहयोगमा सङ्ग्रहालय निर्माण भएको जानकारी दिए। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त महास्नान घरलाई बैंकले प्रबलीकरण गरी सङ्ग्रहालय निर्माण गरेको हो।
भूकम्पले भत्किएका पशुपति क्षेत्रका ९६ मध्ये ६३ वटाको पुनःनिर्माण सम्पन्न भएको छ, पशुपति क्षेत्रमा आठ सय १८ सम्पदा छन्, यसको संरक्षणका लागि कोषले काम गरिरहेको छ।
सङ्ग्रहालयमा दुई सय ६५ सामग्री राखिएको छ। विसं २०८० मा भ्रमण वर्षका रुपमा पशुपति दर्शन कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी पनि उनले दिए।