धनगढी। कैलालीको दुई स्थानमा आज विहान शङ्कास्पद् वस्तु फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–१ अत्तरिया चौकस्थित धनगढी–अत्तरिया बाटोमा र सोही नगरपालिकाको वडा नम्बर ६ स्थित आवास नगरको गेट नजिक शङ्कास्पद् वस्तु फेला परेको हो।
धनगढी–अत्तरिया बाटोमा सेतो प्लाष्टिकमा बेरेर राखेको वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। सो स्थानमा प्रहरी निरीक्षक वासुदेव भट्टको कमाण्डमा सात जना प्रहरी खटाइएको र नेपाली सेनासंग समन्वय भइरहेको जनाइएको छ।
यसैगरी, आवास नगरको गेट नजिक प्रेसर कुकर जस्तो देखिने शङ्कास्पद् वस्तु फेला परेको छ। सो स्थानमा प्रहरी सहायक निरीक्षक रामबहादुर ऐडीको कमाण्डमा तीन जना प्रहरी खटेको जोशीले जानकारी दिए। उक्त वस्तु डिस्पोजका लागि नेपाली सेनासंग समन्वय भइरहेको छ।
विप्लव नेतृत्वसहितको गरी केही पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ। यद्यपि, ती शङ्कास्पद् वस्तु कसले राखेको हो भन्ने पुष्टि भएको छैन।