बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा जिल्लास्तरीय क्रिकेट छनोट प्रतियोगिताको मिति परिवर्तन गरिएको छ ।
यसअघि भदौ १४ र १५ गते हुने भनिएको छनोट प्रतियोगिताको मिति परिवर्तन गर्दै भदौ १० गते राखिएको हो । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको नेपाल टी ट्वान्टी लिग र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति एकै समयमा पर्न गएपछि नयाँ मिति तय गरिएको हो ।
यसअघि असोजमा हुने तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिता मिति परिवर्तन गरेर भदौ २२ गतेदेखि गर्ने निर्णय भएसँगै जिल्लास्तरीय छनोट पनि अघि गर्न लागिएको जनाइएको छ ।
जिल्लास्तरीय पुरुष र महिला क्रिकेट छनोट प्रतियोगिता भदौ १० गते देहिमाडौँ खेलमैदानमा सञ्चालन हुने बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।
यसअघि भदौ १४ गते देहिमाडौँ खेलमैदानमा पुरुष क्रिकेट र भदौ १५ गते सोही मैदानमा महिला क्रिकेट छनोट प्रतियोगिता सञ्चालन गर्ने मिति तय भएकामा परिवर्तन गरिएको हो ।बैतडी जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जोशीका अनुसार अन्य छनोट प्रतियोगिता भने साबिककै मिति अनुसार हुनेछन्।
यही भदौ १० गते पहिलो दिन टेबल टेनिस (महिला/पुरुष), बुद्धिचाल भारत्तोलन पुरुष, कराते, तेक्वान्दो (महिला/पुरुष), छनोट सदरमुकाममा हुनेछ । भदौ ११ गते सदरमुकाममै ब्याडमिन्टन (महिला/पुरुष), उसु फुल कन्ट्याक्ट कराते (महिला/पुरुष), मेलौली खेल मैदानमा भलिबल (महिला/पुरुष) छनोट भदौ १२ गते हुने जनाइएको छ ।
यस्तै भदौ १३ गते पाटन खेल मैदानमा कबड्डी (महिला/पुरुष), एथलेटिक्स (महिला/पुरुष), फुटबल, बक्सिङ (पुरुष) छनोट प्रतियोगिता सञ्चालन हुने बैतडी जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
दर्ता फारम नभरेका खेलाडीलाई छनोटमा सहभागी नगराइने र छनोट प्रतियोगितामा सहभागी नभएका खेलाडीलाई छनोट नगरिनेसमेत सूचनामार्फत जनाइएको छ । छनोट प्रतियोगितामा सहभागी हुनका लागि यहाँका तीन सय २९ खेलाडीले आवेदन भरेका छन् ।
जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी हुन पाउनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पुरुष क्रिकेटबाहेक आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा हुने तय भएको छ ।