दोहा । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका दुई नेपाली युवाको मृत्यु भएको छ । काम गर्ने क्रममा रुकुम चौखाबाङ-४ का राहदानी नम्बर १०५२१९२६ भएका ३३ वर्षीय प्रेम बहादुर खड्काको स्क्याफोल्डीङबाट खसेर घटनास्थलमै मृत्यु भएको हो ।
मृतक खड्का कुवेतको अल सागर कम्पनीमा करिब तीन वर्ष अघि पुगेको भए पनि पछिल्लो एक वर्षदेखि पुरानो कम्पनीबाट भागेर अर्को युइसीसी कम्पनीमा अवैधानिक तरिकाले काम गर्दै आएका थिए ।
गत १४ अगष्टमा काम सुरु हुने बित्तिकै स्क्याफोल्डिङबाट खसेर उनको मृत्यु भएको हो । मृतकको शव फरेन्सिक डिपार्टमा रहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।
यसैगरी, कुवेतमा बारा सिमरा घर भएका जीवन लामाको पनि मृत्यु भएको छ । लामाको हिजो मंगलबार कुवेतको आदान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
लामाको मृत्यु भएको प्रारम्भिक जानकारी दूतावासले पाएको भन्दै उनको शव पनि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ ।