काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं मलपछि आरबी कम्प्लेक्समा डोजर चलाएको छ।
महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्समा नक्सा पास बिना बनाइएका अवैध संरचना भत्काउन डोजर चलाएको हो। त्यसका लागि महानगरका मेयर बालेन शाह आफैं पुगेका थिए।
त्यहाँ पुगेर पार्किङका लागि भनेर नक्सा पास गरिएको स्थानमा चलाइएको आरबी क्याफे तत्काल हटाउन शाहले निर्देशन दिए। पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली नगरिए भत्काएर हटाउने चेतावनीसहित उनी त्यहाँबाट फर्किएका छन्।
यसअघि महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा डोजर लगाएर नक्सा पास बिना बनाइएका अवैध संरचना भत्काएको थियो।
पछिल्लो समय काठमाडौं महानगरपालिकले नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा अन्य संरचना बनाइएको स्थानमा त्यस्ता संरचना धमाधम भत्काइरहेको छ।
केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काएको थियो।
महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। उक्त समय सकिएपछि महानगर अवैध रूपमा बनाएका टहरा भत्काउन आक्रामक भएर लागेको छ।