सप्तरी। जिल्ला प्रशासन कार्यालयमा मिटरब्याजीविरुद्ध एक सय १४ उजुरी दर्ता भएका छन्।
सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै एक सय १४ जनाले उजुरी दिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ। मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै गत साउन २८ गते उजुरी आह्वान गरिएको थियो।
कार्यदलका संयोजक डा भीष्मकुमार भुसालले जारी गरेको सूचनामा मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध आ–आफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा यथासम्भव बढी तथ्य प्रमाणसहित उजुरी दर्ता गर्न भनिएको थियो।
देशैभरी मिटर ब्याजको जालो फैलिएको हुनसक्ने अवस्था र आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारका लागि पहल गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गरी सार्वजनिक सूचना जारी गरिएको डा भुसालले बताए। सूचना जारी भएपछि मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट एक सय १४ उजुरी परेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए।
सरकारले उजुरीका लागि दिएको अन्तिम समय सकिएको र अब मिटरब्याजीविरुद्ध उजुरी लिने कि नलिने भन्ने निर्देशन माथिबाट आइनसकेको उनले जानकारी दिए। सप्तरीसहित देशैभरी मिटर ब्याजीपीडितहरू दिनहुँ प्रदर्शन गरिरहेका छन्।