काठमाडौं। काठमाडौं महानगरपालिकाले नक्सा पास बिना बनाइएका अवैध संरचनामा धमाधम डोजर चलाउन थालेको छ।
यसअघि महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। उक्त समय सकिएपछि महानगर अवैध रूपमा बनाएका टहरा भत्काउन आक्रामक भएर लागेको छ।
नक्सा पास बिना बनाइएका अवैध संरचना भत्काउन मेयर बालेन शाह आफैं पनि फिल्डमा उत्रिएका छन्।
केही दिनअघि मात्रै महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काउँदै उक्त अभियान सुरु गरेको थियो।
सोही अभियानअन्तर्गत महानगरले बुधबार काठमाडौं मल र आरबी कम्प्लेक्समा डोजर चलाएको छ।
सुन्धारास्थित काठमाडौं मलमा अवैध रूपमा बनाएको संरचना हटाउनको लागि महानगरले डोजर लगाएको महानगरका प्रहरी प्रमुख राजु पाण्डेले बताए।
काठमाडौं महानगरपालिकाले काठमाडौं मलपछि आरबी कम्प्लेक्समा डोजर चलाएको छ।
महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्समा नक्सा पास बिना बनाइएका अवैध संरचना भत्काउन डोजर चलाएको छ। त्यसका लागि पनि महानगरका मेयर बालेन शाह आफैं पुगेका थिए।
त्यहाँ पुगेर पार्किङका लागि भनेर नक्सा पास गरिएको स्थानमा चलाइएको आरबी क्याफे तत्काल हटाउन शाहले निर्देशन दिए। पार्किङका लागि नक्सा पास भएको स्थानमा बनाइएको क्याफे खाली नगरिए भत्काएर हटाउने चेतावनीसहित उनी त्यहाँबाट फर्किए।
त्यसपछि मेयर बालेन रञ्जना गल्ली पुगे। त्यहाँ पनि व्यापारिक मलमा महानगरपालिकाले डोजर लगायो।
त्यसपछि दरबारमार्ग पुगेका बालेनले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाउन लगाए। दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिए।
मेयर बालेनको निर्देशनमा काठमाडौं महानगरपालिकाले जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको छ। भवनको नक्सा पासको विवरण नपठाए कारबाही गर्ने पत्रमार्फत महानगरले चेतावनी दिएको छ।
संरचना भत्काउन डोजर लिएर विभिन्न स्थान पुगेका बालेनले कानुन सबैलाई बराबर हुने र नक्सा पास नभए अदालतमा पनि डोजर चल्ने चेतावनी दिएका थिए।
मेयर बालेनले आज बुधबार साँझै कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमन गर्ने उनको सचिवालयले जनाएको छ।