काठमाडौं। महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरालाई भदौ १५ बयानका लागि बोलाएको छ।
बुधबार बसेको महाअभियोग समिति बैठकले जबरालाई १५ भदौ बुधबार बयानका लागि बोलाउने निर्णय गरेको हो।
समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार महाअभियोग सिफारिस समितिले बुधबार कार्यतालिकामा पनि पारित गरेको छ।
जसमा ९ देखि १२ भदौसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने, १५ भदौको बिहान ११ बजे जबरालाई बयानका लागि बोलाउने उल्लेख छ।
समितिले अध्ययन सकेर १८ वा १९ भदौमा प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका रहेको छ।
जबराविरुद्ध २०७८ फागुन १ गते महाभियोग दर्ता भएको थियो। महाभियोग दर्ता भएपछि जबरा स्वतः निलम्बनमा परेका थिए।
प्रतिनिधिसभाले फागुन २२ गते महाभियोग सिफारिस समिति गठन गरको थियो।
महाभियोग सिफारिस समितिमा सांसदहरु एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य रहेका छन्।