काठमाडौं। काठमाडौं महानगरपालिकाले नक्सा पास बिना बनाइएका अवैध संरचनामा धमाधम डोजर चलाउन थालेको छ।
यसअघि महानगरले अवैध रूपमा बनाएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो। उक्त समय सकिएपछि महानगर अवैध रूपमा बनाएका टहरा भत्काउन आक्रामक भएर लागेको छ।
नक्सा पास बिना बनाइएका अवैध संरचना भत्काउन मेयर बालेन शाह आफैं पनि फिल्डमा उत्रिएका छन्।
मंगलबार महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउण्ड पार्किङमा संचालन भएका पसलहरू भत्काउँदै उक्त अभियान सुरु गरेको थियो।
सोही अभियानअन्तर्गत महानगरले बुधबार काठमाडौं मल, आरबी कम्प्लेक्स, रञ्जना गल्ली, दरबारमार्गमा नक्सा पास बिना बनाइएका अवैध संरचना भत्काइए र केहीलाई भत्काउन निर्देशन दिइयो।
मेयर बालेनको निर्देशनमा काठमाडौं महानगरपालिकाले बुधबार जिल्ला अदालत काठमाडौंलाई नक्सा पास भएको विवरण पठाउनका लागि पत्र लेखेको थियो।
बिहीबार पनि बिहानैदेखि बालेन नक्सा पास बिना बनाइएका अवैध संरचना भत्काउन फिल्डमा हिँडेका छन्। उनी आज शंखमुल, बानेश्वर, बुद्धनगरलगायतका क्षेत्रमा गएका छन्।
शंखमुलस्थित बर्गर हाउस अगाडिको बेसमेन्ट हटाउन बालेनले निर्देशन दिए। बर्गर हाउसका संचालकले दुई दिनको समय मागेपछि उनले सटर बन्द गराएर फर्किएका छन्।
पार्किङस्थलमा व्यापारिक प्रयोजनका लागि प्रयोग गरिएको स्थान खाली गराइरहेका छन्।