काठमाडौं। काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाले बनाएका अवैध संरचना डोजर लगाएर भत्काएको छ।
बिहीबार दिउँसो महानगरका मेयर बालेन शाह आफैं त्यहाँ पुगेर अल्फाबिटाले बनाएका अवैध संरचना डोजर लगाएर भत्काएका हुन्।
बिहीबार बिहान अनुमतिबिना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा मेयर शाह नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए। सो क्रममा मेयर बालेन र अल्फा बेटा ग्रुपका सञ्चालक द्विराज शर्माबीच चर्काचर्की परेको थियो।
शर्माले संरचनाहरू नक्सा पास गरेर बनाएको दाबी गरेका थिए। त्यसपछि महानगरपालिकाले अल्फा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर गर्दै भत्काउन डोजर लगाएको हो।
अहिले त्यहाँ अवैधानिक रुपमा बनाइएको फर्मेसी हटाउन र पार्किङ खोल्न थालिएको छ।
काठमाडौं महानगरपालिकाले पछिल्लो समय नक्सा पास बिना बनाइएका अवैध संरचनामा डोजर लगाएर भत्काउने तथा पार्किङस्थल खाली गराउने अभियान चलाइरहेको छ।
सम्बन्धित समाचारः
लगातार एक्सनमा बालेनः अवैध संरचना भत्काउँदै, पार्किङस्थल खाली गराउँदै