काठमाडौं। नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशका दुई मन्त्रीलाई फिर्ता बोलाएको छ।
माओवादीले कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको हो।
कर्णाली प्रदेश सरकारमा माओवादीबाट तीनजना मन्त्री थिए।
माओवादीले अब जाजरकोटकी सांसद कृष्णा शाह र रुकुम पश्चिमका रातो कामीलाई सरकारमा पठाउने तयारी गरेको छ।
कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका ११ सांसद छन्, जसमध्ये ९ जना मन्त्री भइसकेका छन् । शाह र कामीलाई मात्रै मन्त्री हुन बाँकी थिए। उनीहरुलाई पनि मन्त्री बनाउन विष्ट र सिंहलाई फिर्ता बोलाइएको हो।
तर, माओवादी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले समावेशी सिद्धान्तअनुसार महिला सहभागिता गराउने उद्देश्यसहित मन्त्री फिर्ता बोलाइएको बताइन्।