काठमाडौं। दिनेश राउतको निर्देशन तथा चर्चित अभिनेता प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘प्रकाश’ लाई विभेद गरिएकोे भन्दै फिल्म टिमले आपक्ति जनाएको छ।
रिपोर्टर्स क्लब नेपालमा आज (शुक्रबार) आयोजित साक्षात्कारमा बोल्दै फिल्म निर्माता महेन्द्र अधिकारीले आफूहरु अन्यायमा परेको महसुस भएको बताए। प्रकाश फिल्म दर्शकको लागि बनाइएको भन्दै दर्शकले चाहेको कुनै पनि समयमा फिल्म हेर्न पाउनुपर्नेमा वितरकले ध्यान दिनुपर्ने उनको भनाइ छ।
उनले आफुले गरेको दुःखलाई दर्शकले हेर्न नपाउनु दुःखद् भएको भन्दै आक्रोश पोखे ।
आफ्नो फिल्मको अब ३ शो मात्रै बाँकी भएको भन्दै उनले भने,‘१२ बजे, १ बजे, त्यो भन्दा बढी शो नै छैन्। एउटा क्वि.एफ.एक्स भेन्युमा ३ वटा हल हुन्छ। त्यसमा एटलिस्ट एउटा शो त हामीलाई आउनुपर्यो नि त। प्राइम टाइमदेखि अफ टाइमदेखिको शो हुन्छ।’
उनले भने, ‘बिहान, दिउँसो, बेलुका र रातको समयमा हेर्न पाउनुपर्यो । हामी कति हेपिएर बस्ने? विदेशी चलचित्रमात्र देखाउन पाउने भन्ने छ र?’
उनले अभिनेता प्रदीप खड्काले २ वर्षको लामो अध्ययनपछि निकै मेहनत गरी अभिनय गरेको उक्त फिल्म उत्कृष्ट भएको दाबी गरे। नेपाली फिल्म हेर्ने नेपालीहरुको संख्या पछिल्लो समयमा ह्वात्तै बढेको उल्लेख गर्दै उनले राम्रो फिल्म दर्शकले दोहोर्याएर पनि हेर्ने गरेको बताए। प्रकाश चलचित्रलाई प्रदर्शनको क्रममा कुनैपनि तवरले अवरोध र अन्याय गर्न नहुने जिकिर गरे।
अभिनेता खड्काले फिल्म प्रदर्शन खुला प्रतियोगिता भएको भन्दै पुर्वाग्रही भयो की भएन त्यो चाँही ठुलो कुरा भएको बताए। उनले भने, ‘हाम्रो फिल्मको आउटलुक हेर्दा आम मानिसलाई कभर गर्न नसक्ला भनेर आंकलन गरेपनि कसैले फिल्म झुर छ, राम्रो छैन् भनेर ट्यागै त लगाउन भएन नि।’
वितरकले फिल्म नहेरी प्रदर्शनमा रोक लगाउन खोजेको र हेरेका दर्शकहरुले राम्रो प्रतिक्रिया दिइरहेको उनको भनाइ छ। उनले ललितपुरको सबैभन्दा ठुलो हल लाबिम मलमा रहेको उल्लेख गर्दै उक्त हलमा पनि ३ बजेपछि शो नै नभएको बताए।
उनले भने, ‘साना हलहरुले बिहान, दिउँसो र बेलुका शो दिइराखेका छन्, तर ठुला हलहरुले अरु फिल्मलाई ५ बजेपछि दुई÷दुई शो दिने गर्छन्, ८ बजे, ९ बजे, ६ बजेको शो।’
खड्काले प्रकाश फिल्म वैचारिक फिल्म भएको दाबी गर्दै देशभरका दर्शकले आफुलाई हलमा फिल्म हेर्न चाहेपनि शो नै नभएको भन्दै खबर पठाएको सुनाए। उनले आफू अभिनित प्रकाश चलचित्रलाई पर्याप्त शो नदिईए र यस्तै समस्या भइरहे चोक–चोकमा प्रोजेक्टर लगाएर भएपनि चलचित्र देखाउने बताए। वितरकले आफ्नो फिल्मप्रति सहानुभुति नदेखाएको उनको गुनासो छ।
वितरकले सबै फिल्मलाई बराबर प्रदर्शन गर्नुपर्ने जोड दिँदै उनले भने, ‘फिल्म चलेन भनेमात्र अर्को फिल्म दिनुपर्छ, फिल्मको रेस्पोन्स नै नहेरी र विश्लेषण नै नगरी यस्तो गर्नुमा मैले चाहीँ कहीँ न कहीँ नियतमै खोट देखेको छु।’