कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले पुस्तकालय अनौपचारिक विश्वविद्यालय भएको बताएका छन् ।
कैलालीको टीकापुर सामुदायिक पुस्तकालयको पाँचौँ चुनावी साधारणसभालाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले पुस्तकालयबाट धेरै कुराको ज्ञान लिन सकिने र एउटै ठाउँमा धेरै कुराको सिकाइ हुने भएकाले पुस्तकालय विश्वविद्यालय भएको बताए ।
“पुस्तकालयमा धेरै विषयवस्तु राखिएका हुन्छन् । ती विषयवस्तुबाट हामीलाई धेरै कुराको सिकाइ हुनसक्छ”, प्रदेश प्रमुख जोशीले भने,“हामीले एउटै ठाउँमा बसेर धेरै कुराको ज्ञान आर्जन गर्नसक्ने भएकाले नै पुस्तकालयलाई अनौपचारिक विश्वविद्यालय मान्न सकिन्छ ।” पुस्तकले पाठकको भोक मेटाउने कामसमेत गर्ने गरेको बताउँदै भने, “पुस्तकले ज्ञानको भोक मेट्छ । त्यस्तो भोक मेटाउने क्षेत्रमध्येको एक पुस्तकालय हो ।”
उनले एउटा पुस्तकले देशलाई बदल्न सक्ने बताउँदै पुस्तक र पुस्तकालयको सम्बन्धलाई नागरिकसामु मजबुत बनाएर लैजानुपर्ने बताए । पूर्वऊर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले पुस्तकालयलाई अबका दिनमा नयाँ ढङ्गबाट अगाडि बढाउन सक्नुपर्ने बताए ।