काठमाडौं। काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचना हटाउने मेयर बालेन शाहको अभियानमा साथ, सहयोग र समर्थन रहेको बताएकी छन्।
महानगरपालिकाको अनधिकृत संरचना हटाउने अभियानबारे केही अनलाइन मिडियामा भ्रम सिर्जना गर्ने गरी गरेका समाचार सम्प्रेषण भएकोमा ध्यानाकर्षण भएको उल्लेख गर्दै उपमयेर डंगोलले बालेनको अभियानमा साथ, सहयोग र समर्थन रहेको स्पष्ट पारेकी हुन्।
सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरेका अनधिकृत संरचना (निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भुँइतला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाई पछि अन्य व्यापारिक प्रयोजनमा लगाएका संरचना) हटाउने कार्यलाई केही दिनदेखि काठमाडौं महानगरपालिकाले निरन्तरता दिँदै आएको विदितै छ।
उनले अगाडि भनेकी छन्, ‘त्यस्ता अनधिकृत संरचना हटाउने अभियान काठमाडौँ महानगरपालिकाको हो। म काठमाडौँ महानगरपालिकाको उपमेयरको हैसियतमा छु। त्यसैले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा मेरो साथ, सहयोग र समर्थन रहेको स्मरण गराउन चाहन्छु। ’
काठमाडौं महानगरलाई साँच्चिकै स्वच्छ, सुन्दर, जीवन्त र व्यवस्थित सांस्कृतिक नगरका रूपमा थप विकास गर्ने आफ्नो एजेण्डाप्रतिसजग र सचेत रहेको उनले स्मरण गराएकी छन्।