भारत। दिल्लीको छेउमा रहेको नोएडाको सेक्टर ९३ एमा रहेको प्रसिद्ध ट्विन टावरलाई ध्वस्त पार्ने सबै तयारी पूरा भएको छ।
आइतबार दिउँसो साढे २ बजे मात्र १२ सेकेन्डमा यी दुवै विवादित टावर भग्नावशेषमा परिणत हुनेछन्। समाचार एजेन्सीका अनुसार रियल इस्टेट कम्पनी सुपरटेकले यी टावरहरू भत्काउनुअघि धेरै क्रेनहरू त्यहाँ पुगिसकेका छन्। स्थानीय प्रहरी घटनास्थल खाली गराउनमा जुटेको छ।
एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनलाई ट्विन टावर भनिन्छ। तिनीहरूको उचाइ ३२० फिट भन्दा बढी छ।
ट्विन टावरलाई भत्काउन लगभग ३७०० केजी विस्फोटक पदार्थ प्रयोग गरिनेछ। सावधानीलाई ध्यानमा राख्दै यी भवन नजिक रहेका मानिसहरूलाई घर खाली गर्न भनिएको छ।
अवैध रूपमा बनेका यी भवन सर्वाेच्च अदालतको आदेशपछि भत्काउन लागिएको हो। सरकारी प्राधिकरण र घरजग्गा व्यापारीको मिलेमतोमा पटक–पटक नक्सा संशोधन गर्दै तला थप्दै गएपछि अदालतमा मुद्दा पुगेको थियो।
व्यापारीले सरकारी संयन्त्रलाई भ्रष्टाचारमा लोभ्याउन सके पनि अदालतले स्थानीयलाई न्याय दिएको छ। यतिबेला टावर भत्किने घटना भारतको सर्वाधिक चासोको घटना बनेको छ।