काठमाडौं। नागरिकता विधेयक राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा पठाइएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा पठाइएको हो।
आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ।
उक्त समितिले विधेयकमा संशोधन गर्ने वा जस्ताको तस्तै पारित गर्नुपर्ने प्रतिवेदन राष्ट्रिय सभालाई दिनेछ। त्यसपछि विधेयक राष्ट्रिय सभामा निर्णयार्थ प्रस्तुत हुनेछ।
राष्ट्रिय सभाको अर्को बैठक भदौ १६ गतेका लागि बालाइएको छ।
संसदका दुबै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाएको उक्त विधेयकलाई राष्ट्रपति भण्डारीले ८ पृष्ठ लामो सन्देश लेख्दै साउन २९ गते फिर्ता पठाएकी थिइन्।
तर, उक्त विधेकयलाई प्रतिनिधिसभाले भदौ २ गते जस्ताको तस्तै पारित गरिसकेको छ।