काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार कार्यालयसहित विभिन्न ६ निकायमा नेविसंघले गरेको तालाबन्दी आइतबार अनेरास्ववियुका विद्यार्थीले खुलाएका छन् । अनेरास्ववियुले विश्वविद्यालय सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रमअन्तर्गत विश्वविद्यालयमा लगाइएको ताला फुटाइएको अनेरास्ववियुका उपाध्यक्ष आरसी लामिछानेले बताए।
आइतबार बिहान विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलन विथोल्न पुगेका नेविसंघका कार्यकर्ता र अनेरास्ववियुका कार्यकर्ताबीच झडप भएको थियो । विश्वविद्यालय भित्रका समस्या वार्ता, छलफल र सहमतिबाट समाधान हुनुपर्ने लामिछानेले बताए ।
नेविसंघले एक महिनाअघि रजिष्ट्रार कार्यालय, लेखा, कर्मचारी महाशाखा, कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, व्यवस्थापन र मानविकी डिन कार्यालयमा तालाबन्दी गरेको थियो ।
परीक्षामा अघिल्लो वर्ष र निजी कलेजको हुबहु प्रश्नपत्र निकाल्ने दोषीलाई कारबाही हुनुपर्ने नेविसंघको माग छ । त्रिविले भने छानबिन गरी दोषीहरुलाई ३ वर्षसम्म पठनपाठन र परीक्षामा संलग्न हुन रोक लगाइसकिएको जनाएको छ । ताला फुटाएपछि नेविसंघले उपकुलपति धर्मकान्त बास्कोटाले अनेरास्ववियूका विद्यार्थी परिचालन गरेको आरोप लगाएको छ ।
नेविसंघले बास्कोटा नियुक्ति भएदेखि नै विभिन्न माग अघि सार्दै तालाबन्दी, तोडफोड लगायतको उच्छृंखल गतिविधि गर्दै आएको अनेरास्ववियूले जनाएको छ । बास्कोटाले नेविसंघ नामको एक जत्थाले आतंक सिर्जना गरेका कारण विश्वविद्यालयमा अशान्ति फैलिएको टिप्पणी गरेका छन् ।