काठमाडौं। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको तालाबन्दीलगायतका विरोध कार्यक्रम शीघ्र समाधान गर्न रुलिङ गरेका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले त्रिविमा केही समय यता तालाबन्दीलगायतका समस्या कायम रहेको बताए। त्रिविमा गुण्डागर्दी, अराजकता बढेको र पठनपाठन अवरुद्ध भएको भन्दै उनले सदनको ध्यानाकर्षण गराए।
सांसद ज्ञवालीले त्रिविको समस्या समाधानका लागि रुलिङ नभएसम्म संसद्को बैठक सञ्चालन हुन नसक्ने अडान राखे।
त्यस लगत्तै सभामुख सापकोटाले त्रिविमा भएका तालाबन्दीलगायत विरोधका कार्यक्रमले शैक्षिक एवम् पठनपाठन प्रभावित भएको भन्ने विषयमा सभाको गम्भीर ध्यानाकर्षण भएको र त्रिविको समस्या शीघ्र समाधान गर्न सरकारलाई निर्देशन दिए।