काठमाडौँ । नेपालका ७० जिल्लामा डेंगु संक्रमण विस्तार भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुसदेखि आइतबारसम्म २ हजार ५ सय ३९ जनामा डेंगु पुष्टि भइसकेको छ ।
टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै १७ जना उपचाररत छन्, तीमध्ये चार जना आईसीयूमा छन् । यहाँ दिनहुँ ७० जनासम्म संक्रमित उपचारका लागि आउने गरेका छन् ।
ललितपुरको महालक्ष्मीस्थानस्थित होस्टलमा बस्दै आएकी १९ वर्षीया किशोरीलाई हातखुट्टा दुख्न र ज्वरो आउन थालेपछि सिभिल अस्पतालमा जँचाउने क्रममा डेंगु पुष्टि भएको थियो । टेकु अस्पताल रेफर गरिएकी उनी तीन दिनदेखि आईसीयूमा छिन् । डेंगु देखापरेपछि नुवाकोटका एक युवक र सिन्धुपाल्चोकका एक ज्येष्ठ नागरिक पनि आईसीयूमा छन् ।
स्वास्थ्य कार्यालय नुवाकोट प्रमुख महेन्द्रध्वज अधिकारीले शुक्रबार डेंगु देखापरेको ठाउँ विदुर नगरपालिकाका प्रतिनिधिसहित बैठक बसेर लामखुट्टेको बासस्थान पत्ता लगाएर नष्ट गर्ने निर्णय गरिसकेको बताए । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रोग नियन्त्रण गर्न स्वास्थ्य कार्यालयले स्थानीय तहसँग समन्वय गरिरहेको दाबी गरे ।
संक्रमितमध्ये अधिकांशमा १०४–१०५ डिग्रीसम्म कडा ज्वरो आउने, टाउको, पेट र जीउ दुख्ने, खान मन नलाग्ने, वाकवाकी, बान्ता हुने, एकदमै कमजोरी अनुभव हुनेजस्ता लक्षण देखिने गरेका छन्। यस्तै आँखाको गेडी दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने, बेहोस हुनेजस्ता लक्षण पनि देखा पर्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार ७० जिल्लामा डेंगु देखापरेको छ । तीमध्ये सबभन्दा बढी ललितपुरमा ८ सय ५८, रूपन्देहीमा ३ सय ६३, काठमाडौंमा ३ सय ३२, धादिङमा ७३, तेह्रथुममा ६५, सिन्धुलीमा ६१, भक्तपुरमा ५४, संखुवासभामा ५१, अर्घाखाँचीमा ५० र गुल्मीमा ४९ जनामा डेंगु देखापरेको छ । वाग्मती प्रदेशमा १ हजार ४ सय ७८, लुम्बिनीमा ४ सय २, प्रदेश १ मा १ सय ६, सुदूरपश्चिममा ४७, मधेस र गण्डकीमा ३६र३६, कर्णालीमा १८ जनामा डेंगु पुष्टि भएको छ । महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले रोग नियन्त्रण गर्न नागरिक पनि सचेत हुन जरुरी रहेको बताए ।
डेंगु २०२१ मा ५ सय ४० र २०२० मा ५ सय ३० जनालाई मात्र लागेको थियो । २०१९ मा महामारीका रूपमा फैलँदा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने तीन जनाको मृत्यु भएको थियो ।