काठमाडौँ । हिन्दु महिलाहरूले आज हर्षोल्लासका साथ तीज पर्व मनाउँदै छन् । भगवान् महादेवको पूजा आराधना गरी तीज मनाइरहेका छन् । काठमाडौँको पशुपतिलगायत विभिन्न मन्दिर परिसरमा बिहानै देखि भिड लागेको छ ।
तीजलाई शान्त तरिकाले मनाउनको लागि उपत्यकामा दुई हजारभन्दा बढी प्रहरी प्रहरीले निगरानी गरिरहेका छन् ।
उपत्यकाका विभिन्न मन्दिर परिसरमा भिड हुने भएकाले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । तीजको दिन आज काठमाडौँ सुरक्षाका लागि दुई हजार चार सय प्रहरी खटिएको एसपी दिनेशराज मैनालीले बताए ।
एक हजार महिला प्रहरी र एक हजार चार सय पुरुष प्रहरी खटिएका छन्। पशुपति क्षेत्रमा मात्रै एक हजार दुई सय प्रहरी परिचालन गरेको एसपी मैनालीको भनाई छ । यस्तै प्रहरीले सादा पोसाकमा पनि प्रहरी परिचालन गरेको छ। परिसरले पाकेटमारी तथा गरगहना चोरी हुन सक्ने भन्दै सचेत हुन पनि आग्रह गरेको छ।