रौतहट। गरूडा नगरपालिकामा चट्याङ लागेर आमाछोरीसहित ३ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गरूडा नगरपालिका–३ मलाहीचोक बस्ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी रहेका छन्।
मंगलबार बिहान चट्याङ लागेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लले जानकारी दिए।
चट्याङ लागेर सोही ठाउँमा बस्ने ४० वर्षीया सहेलीदेवी सहनी घाइते भएकी छन्। उनीहरु सबै सोही ठाउँका शरद सहनीको धानखेतमा काम गरिरहेका थिए।