काठमाडौं। फिल्म ‘राधा’ प्रदर्शन रोक्ने निर्णय गरेको छ।
फिल्म ‘राधा’ निर्माण टिमले आकस्मिक पत्रकार सम्मेलन गर्दै प्रदर्शन रोक्ने निर्णय गरेको हो। ‘राधा’ फिल्मका निर्माताले हलवालाहरुले शो बाँडफाँटमा विभेद र अन्याय गरेको भन्दै प्रदर्शनबाट उतार्ने घोषणा गरेका हुन्।
‘हामीलाई सुरुदेखि नै शो बाँडफाँटमा विभेद गरियो। दिइएको शो पनि दर्शकको लागि अनुकूल रहेनन्। सोही कारण फिल्मको प्रदर्शन रोक्ने निर्णय गरेका छौं,’ निर्मात्री देवकी विष्टले भनिन्, ‘प्रदर्शन रोक्ने जानकारी हल र वितरक दुवैलाई दिएका छौं।’
तीजमा हलले शो बढाइदिने आशा आफूहरुले राखे पनि त्यसो नगरेर शो घटाइदिएको आरोप पनि उनले लगाइन्। ‘तीजको दिनमा शो बढ्ला कि भन्ने आशा थियो, त्यो पनि भएन। त्यसपछि रोक्ने निर्णय गरेका हौं,’ उनले भनिन्, ‘बोल्नेहरुको शो बढाइएको छ, नबोल्नेको बढेन। हलहरुले गरेको विभेद हामीलाई स्वीकार्य छैन।’
फिल्म अपेक्षित दर्शकसम्म नपुगेको र वितरकबाट सहयोग पनि नपाएको भन्दै नयाँ शैलीमा पुनः रिलिज गर्ने गरी अहिलेलाई फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माता तथा निर्देशक सुवर्ण थापाले बताए।
सुवर्ण थापा निर्देशित फिल्ममा सौगात, मल्ल, सृष्टि श्रेष्ठ र खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् भने निश्चल बस्नेत, दयाहाङ राई, दिव्य देव आदि कलाकार अतिथि भूमिकामा छन्। फिल्ममा बुद्धि तामाङ, पशुपति राई, लोकेन्द्र लेखक आदि कलाकारको पनि अभिनय रहेको छ।
यो फिल्म हराएका पतिको खोजी गर्न एकल आमाले गरेको संघर्ष र महिलाको सहनशिलतामा आधारित छ।