कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लै १५० सिट जितेर देशको विकास गर्ने बताएका छन् ।
बुधवार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले यस्तो बताएका हुन्।
यस्तै उनले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप लगाए । सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सरणमा पुगेका र प्रधानमन्त्री बनाइदेऊ भन्दै माओवादी अध्यक्ष प्रचण्ड पनि भारतसँग खुसुखुसु गर्न थालेका उनले बताए ।
‘सत्तारुढ दल देशको लागि नभई व्यक्तिगत स्वार्थका लागि विदेशीको इसारामा पर्न थालेका छन्,’ बुधबार कञ्चनपुर पुगेका ओलीले भने, ‘जनताले त्यो सबै बुझिसकेका छन् । आगामी निर्वाचनमा एमाले एक्लै १५० सिट जितेर देशको विकास गर्ने अघि बढ्ने छ ।’
उनले देशको विकास चाहने नेपालीलाई एमालेमा आउन आग्रह गरे । बुधबार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको भन्दै अन्य पार्टीमा लागेका कार्यकर्तालाई पनि एमालेमा आएर देश विकासमा होमिन आग्रह गरे ।
‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘कसैले विदेशीको हात समातेर सत्तामा पुग्ने सपना देखेका होलान् ।’ भोट दिने नेपाली नागरिक भएको र उनीहरूलाई देशको माया रहेको बताए ।
एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहेकी प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता एमालेमा फर्केका छन् ।
यस्तै आजै मात्रै वर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी पनि एमालेमा फर्किएका छन्। उनीहरु सबैलाई अध्यक्ष ओलीले गम्छा ओढाएर स्वागत गरेका छन्।