काठमाडौँ । काठमाडौँस्थित अष्ट्रेलियन राजदूतावासबाटै भिसा उपलब्ध गराउन आग्रह गरिएको छ ।
नेपाल र अष्ट्रेलियाको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठकमा नेपालले कोभिड महामारीपछिको आर्थिक अवस्था सुधारका लागि थप सहयोग गर्न, दिगो विकासको लक्ष्य हासिल गर्न तथा नेपाली नागरिकका लागि काठमाडौँस्थित अष्ट्रेलियन राजदूतावासबाटै भिसा उपलब्ध गराउन आग्रह गरेको हो ।
अष्ट्रेलियाको क्यानबेरामा बसेको संयन्त्रको दोस्रो बैठकमा नेपाली टोलीको नेतृत्व परराष्ट्र सचिव भरतराज पौडेल र अस्ट्रेलियन टोलीको नेतृत्वको त्यहाँको विदेश विभागका सहसचिव जस्टिन हेयस्र्टले गरेका थिए ।
क्यानबेरास्थित नेपाली दूतावासका अनुसार संयन्त्रको बैठकमा द्विपक्षीय सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको छ । त्यस्तै परराष्ट्र सचिव पाण्डे नेतृत्वको नेपाली टोलीले अष्ट्रेलियाले नेपाललाई पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै अष्ट्रेलियन एडको प्राथमिकतामा नेपाललाई राख्न र सहयोग बढाउन अनुरोध गरेको छ ।
बैठकमा अष्ट्रेलियाले नेपाललाई उपलब्ध गराउँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने उद्देश्यसहित सन् २०१७ मा सचिव स्तरीय संयन्त्रको स्थापना भए पनि एक पटक मात्रै बैठक बसेको थियो । पहिलो बैठक सन् २०१८ मा काठमाडौँमा बसेपछि त्यसको दुई वर्षपछि पुनः बस्ने भनिएको थियो । तर, कोरोना महामारीलगायत कारण दुई वर्ष ढिलो गरी मात्रै संयन्त्रको दोस्रो बैठक बसेको हो ।