काठमाडौं। महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिएको छ।
बयानका क्रममा राणाले महाअभियोग सिफारिस समिति तथा सांसदहरू माथि नै निष्पक्षताको प्रश्न उठाएको समितिका सदस्य एवं सांसद रेखा शर्माले जानकारी दिइन्।
सांसद शर्माका अनुसार आफूविरूद्ध महाभियोग प्रस्ताव गर्ने सांसदहरू नै समितिमा रहेकाले जबराले निष्पक्षताको प्रश्न उठाएका हुन्। जबराले समितिको नियमावलीबारे पनि प्रश्न उठाएको सांसद शर्माले बताइन्।
समितिले तयार गरेको ४३ वटा प्रश्नमध्ये आज २ वटा प्रश्नमा मात्रै जबरासँग आज बयान लिइएको छ।
बैठकमा सहभागी समितिका सदस्य एवं नेपाली कांग्रेसका सचेतक मीन विश्वकर्माले संसदले महाअभियोग लगाएको व्यक्तिले बयानका क्रममा आज व्यक्त गरेको अभिव्यक्तिलाई समितिले सामान्य रुपमा लिएको बताए।
आज बयानमा सोधिएका प्रश्नहरू व्याख्यात्मक रहेको र जबराको जवाफमा प्रतिप्रश्न गर्दा बैठक लम्बिएको कांग्रेस नेता विश्वकर्माले जानकारी दिए।
जबरालाई बयानका लागि भदौ १९ गते पुनः बोलाइएको छ। समितिको कार्यतालिकाअनुसार भदौ १८ गते प्रतिवेदन बुझाउनुपर्ने कार्यसूची रहेकोमा बैठक लम्बिएकाले कार्यतालिकाबारे कानूनी परामर्श गरेर अगाडि बढ्ने बताइएको छ।
जबराविरुद्ध २०७८ फागुन १ मा प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे।
जबराविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियोे। उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ।