दमक।नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान बाहिर आएपछि महाअभियोग सिफारिस समितिमा बयान रोकिन सक्ने आशंका व्यक्त गरेका छन् । ।
विहीबार अपरान्ह गृह जिल्ला झापा पुगेका ओलीले भद्रपुर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सो आशंका व्यक्त गरे। “गठबन्धन सरकारले अब महाअभियोगलाई अघि नबढाएर बयान बीचमै रोक्न सक्छ” उनले भने ।
जबराले महाअभियोग सिफारिस समितिमा बयान दिँदा त्यो समयमा भएको अनैतिक क्रियाकलाप र न्यायाधीशहरुसँगको लेनदेन भएको बिषय सार्वजनिक गरेकाले बयान रोकिन सक्ने उनको भनाई छ । “बयान बीचमै रोकियो भने अनौठो नमाने हुन्छ” उनले भने ।
प्रधानन्यायाधीश जबराबाट एकपछि अर्को पोल खुल्दै जाने भएपछि बयान रोकिन सक्ने उनले बताए । ओली शनिवारसम्म आफ्नो निर्वाचन क्षेत्र दमकसहित झापाका बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको एमाले झापाका अध्यक्ष दीपक कार्कीले बताए ।