काठमाडौं । नेकपा एमालेले कारबाही गरेर कैलाली जिल्ला अध्यक्षबाट हटाएका नेता रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष रञ्जिता श्रेष्ठले थापा लगायतका नेताहरूलाई स्वागत गरिन् ।
एमालेको तर्फबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापालाई स्थानीय तहको चुनावमा अन्तर्घात गरेको आरोपमा एमालेले जिल्ला अध्यक्षबाट हटाएको थियो । थापासँगै एमाले नेता तथा पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायत नेताहरू पनि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।
७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको हिंसात्मक आन्दोलनका क्रममा एक नाबालक र आठ प्रहरी गरी ९ जनाको हत्या भएको घटनामा मुख्य योजनाकारको अभियोगमा जेलमा रहेका रेशम चौधरीले श्रीमतीलाई अध्यक्ष बनाएर नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए ।
३० वैशाखमा स्थानीय चुनाव हुनुभन्दा केही समयअघि मात्रै निर्माण भएको यो पार्टीले कैलालीमा आफ्नो उपस्थिति बलियो पारेको छ । पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कैलालीमा पहिलो हुने लक्ष्य लिएको छ