काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्वीकार गरेका छन्।
आइतवार महाअभियोग सिफारिस समितिलाई बयान दिने क्रममा जबराले कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्वीकार गरे। उनले उक्त फैसलामा माफी माग्न तयार रहेको बताए।
उनले भने, ‘रञ्जन कोइराला कसुरदार ठहरिएका हुन्। उहाँलाई जन्मकैद भएको हो। न्यायाधीशलाई विवेक प्रयोग गर्ने अधिकार छ। तत्कालीन मुलुकी ऐनले त्यो अधिकार दिएको छ। यो पारिवारिक मुद्दा हो। नाबालक छोराहरू पनि इजलासमा उपस्थित भए। नाबालकहरूको पालन पोषणका लागि, पारिवारिक जीवन बिताउनका लागि कैद घटाइएको हो। त्यसमा विवेक प्रयोग गर्दा गल्ती भएको छ।’
उनले कोइरालाको मुद्दाको फैसलाको आधारमा महाभियोग लगाइएको हो भने आफूले गरेको त्यो गल्तीमाथि प्रायश्चित भएको पनि बताए।
पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरुलाई ख्याल गरेर २० वर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि विवेक प्रयोग गरेको उनको भनाइ छ।
उनले भने, ‘यदि त्यही मुद्दाका कारणले महाअभियोग लाग्ने हो भने मेरो भन्नु केही छैन।’
जबराले पत्नी गीता ढकालको हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका कोइरालाको १२ वर्ष सजाय घटाइ दिएका थिए। त्यसपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए।
तर फैसला गैरकानुनी रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले पुनरावलोकनका लागि २०७७ साउन ११ मा निवेदन दिएकोमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहितको इजलासले २० वर्ष नै कैद कायम गरिदिएको थियो।
आज समिति सदस्यहरुले जबरासँग पाँच वटा प्रश्न सोधेका थिए। महाअभियोग सिफारिस समितिको अर्को बैठक आगामी २६ गते बस्ने छ।
समितिले जबरालाई सोध्ने भनेर ४३ वटा प्रश्न तयार पारेको छ।