काठमाडौं। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।
आइबार संसद बैठकमा बोल्दै लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका हुन्।
उनले चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याउन खोजेकोले राजीनामा दिएको बताए। उनले संसदको आयु लम्ब्याउनु तलब भत्ता खाने निर्लज्ज अभ्यास भएको टिप्पणी गरे। उनले आफ्नो नाममा सांसदको रुपमा आउने तलब, भत्ता रोक्का गर्न आग्रह गरे।
उनले यो कार्यकालको अन्तिम मन्तव्य र अन्तिम बैठक भन्दै रोष्टम प्रयोग गर्न सभामुख अग्निप्रसाद सापकोटासँग अनुमति मागेका थिए। त्यसपछि सभामुखले उनलाई रोष्टम प्रयोग गर्न दिएका थिए।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै कामचलाउ हैसियतमा रहेको सरकारले संसद्को कार्यकाल लम्ब्याउन कानुन संशोधन गर्न लागेको छ।
शुक्रबार प्रतिनिधिसभामा दर्ता भएको विधेयक पारित भएमा मंसिर ४ को निर्वाचनपछि पनि अहिलेकै संसद् बहाल रहनेछ। यसले आफूलाई लज्जित बनाएको बताए।
उनले सांसदहरुलाई फेरि विजयको शुभकामना दिए।
उनले अब एक्लो सांसद नभएर बलियो पार्टीको रुपमा प्रस्तुत भएर गलत निर्णय हुन नदिने प्रतिवद्धता जनाए।