लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्राविधिक विश्वविद्यालय छिट्टै सञ्चालनमा आउने बताएका छन् ।
नेपालगञ्जमा आज लुम्बिनी प्राविधिक विश्वविद्यालयको उद्घाटन गर्दै उनले खजुरामा भवन मर्मत नहुँदासम्म डिभिजन वन कार्यालय परिसर नेपालगञ्जमा अल्पकालका लागि विश्वविद्यालय कार्यालय खुलेको बताए ।
“खजुरामा नै कार्यालय उद्घाटन गर्ने मन थियो, तर भवन मर्मत गर्न समय लागेपछि नेपालगञ्जमा कार्यालय खोल्नुप¥यो”, उनले भने, “यहाँ अल्पकालका लागि मात्रै हो । यथाशीघ्र खजुराबाटै प्रशासनिक कार्यालय कार्यान्वयनमा आउनेछ ।”
खजुरामा जनक शिक्षा सामग्री केन्द्रले छापाखाना सञ्चालनका लागि बनाएको भवनलाई लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने तयारी गरिएको भए पनि उक्त भवन मर्मत गर्न समय लाग्ने भएपछि नेपालगञ्जस्थित डिभिजन वन कार्यालय परिसरमा नवनिर्मित भवनमा विश्वविद्यालय उद्घाटन गरिएको छ ।
मुख्यमन्त्री केसीले बाँकेको खजुरामा प्रदेश प्राविधिक विश्वविद्यालयका लागि प्रस्ताव गरिएको जग्गाको स्थलगत अवलोकनसमेत गरेका छन् । खजुरा गाउँपालिकाबाट विश्वविद्यालयका लागि प्रस्ताव भएको ११० बिघा जग्गाको अवलोकन गर्दै विशेष अनुदानको रकमबाट भए पनि भवन मर्मत र जनक शिक्षाबाट भोगाधिकार ल्याउने काम हुने मुख्यमन्त्री केसीले आश्वासन दिए ।