जनकपुरधाम। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुई÷तीन दिनभित्रै गठबन्धन दलबीच सिट बाँडफाँट टुङ्गो लाग्ने बताएका छन्।
पार्टीको कार्यक्रमका लागि जनकपुरधाम आएका अध्यक्ष दाहालले आज सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन दल सिट बाँडफाँटको अन्तिम तयारीमा रहेको बताए।
उनले भने, ‘गठबन्धनको सिट बाँडफाँट अध्ययन कार्यदलले अध्ययन गरिरहेको छ। कार्यदलले आज वा भोलिसम्ममा प्रतिवेदन दिन्छ, त्यसलगत्तै कार्यदलको प्रतिवेदनका आधारमा सिट बाँडफाँटको टुङ्गो लगाउँछ।’
अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको उनले बताए। उनले भने, ‘त्यसबाहेक थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुङ्गो लगाउन मात्र बाँकी छ। हामीले छिटोभन्दा छिटो सिट बाँडफाँटको टुङ्गो लगाएर चुनावी तयारीमा जुट्न चाहन्छौँ।’
गत २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमाभन्दा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा मधेश प्रदेशमा आफ्नो पार्टीले बढी सिट जित्ने दाबी अध्यक्ष दाहालले गरे।
अध्यक्ष दाहालले प्रतिनिधिसभा र राष्ट्रियसभामा दोस्रो पटक पारित भएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुने विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले भने, ‘संविधानले राष्ट्रपतिलाई एकपटक विधेयक फिर्ता गर्ने अधिकार दिएको छ। दोस्रो पटक विधेयक फिर्ता गर्ने अधिकार संविधानले राष्ट्रपतिलाई दिएको छैन, त्यसैले दुवै सदनबट दोस्रो पटक पारित भएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन्छ, हामी पूर्ण विश्वस्त छौँ।’