काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिने भएका छन्।
निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि गृह मन्त्रालयद्वारा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले मन्त्रालयद्वारा स्वीकृत कार्यविधिमा कात्तिक ९ गतेदेखि म्यादी प्रहरीलाई कार्य क्षेत्रमा खटिने जानकारी दिए।
प्रवक्ता राईका अनुसार म्यादी प्रहरी भर्नाका लागि यही भदौ २६ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गर्ने कार्यविधिमा उल्लेख छ।
त्यस्तै, भदौ ३० देखि असोज ६ गतेसम्म आवेदन दिन सकिने, असोज ९ देखि १४ गतेसम्म छनोट प्रक्रिया र असोज २५ गते नतिजा प्रकाशन गर्ने गरी कार्यविधि स्वीकृत भएको छ। यसैगरी, असोज २७ र २८ गते नियुक्ति पत्र दिने कार्यविधिमा उल्लेख छ।
प्रवक्ता राईले कात्तिक ८ गते तालिम सम्पन्न गरी कात्तिक ९ गतेबाट म्यादी प्रहरीलाई कार्यक्षेत्रमा खटाइने जानकारी दिए। म्यादी प्रहरीको कार्यवधी ४० दिनको हुनेछ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी भएको छ।
मङ्सिर ४ गते हुने निर्वाचनमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिइनेछ।