काठमाडौं। अष्ट्रेलियाले देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ।
चालु आर्थिक वर्षमा अष्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५,००० ले बढाउँदै कुल एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति दिने भएको छ।
कोभिड महामारी र सीमासम्बन्धी अष्ट्रेलियाको कडा नीतिका कारण धेरै क्षेत्रमा कर्मचारीको अभाव बढेको छ।
अहिले देशभरि विभिन्न किसिमका जागिरका लागि चार लाख ८० हजार पदहरू रिक्त छन्।
अष्ट्रेलियामा बेरोजगारी ५० वर्षयताकै सबैभन्दा कम हुँदा रोजगारदाताहरू कामदारको अभावका कारण उत्पन्न खाडल पुर्न सङ्घर्ष गरिरहेका छन्।
पर्यटन तथा आतिथ्य, स्वास्थ्य सेवा, कृषि र सीपयुक्त दक्ष कामदार चाहिने उद्योगहरू बढी प्रभावित भएका छन्।
क्यान्बरामा गत साता भएको राष्ट्रिय रोजगार सम्मेलनका क्रममा कामदारको अभावले विमानस्थलहरू अस्तव्यस्त बनेका, फलफूल बोटमै कुहिन थालेको र अस्पतालहरूमा ठूलो दबाव उत्पन्न भएको बताइएको थियो।
त्यस्तै, सरकारले लामो समयदेखि बाँकी रहेको भिसा आवेदनको अन्तिम निर्णय दिने काममा सहयोग गर्ने कर्मचारीका लागि थप ३.६० करोड डलर दिने वाचा गरेको छ। बीबीसी