काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च अमेरिकाको राष्ट्रिय सम्मेलन ‘सामाजिक अभियानमा सहभागि बनौँ’ भन्ने नाराका साथ सेप्टेम्बर १७ र १८ तारिक न्यूयोर्कमा हुने भएको छ।
राष्ट्रिय सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रमुख अतिथिको रुपमा अमेरिका निमन्त्रणा गरेको थियो।
तर मङ्सिर ४ को चुनावी तयारी लगायतको व्यस्तताले आउने सम्भावना नरहेपछि अनलाइन जुममार्फत अध्यक्ष नेपालले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रमको तय भएको मञ्चका अध्यक्ष टेक गुरुङले बताए।
सम्मेलन आयोजनाका लागि एक सय एक सदस्यीय आयोजक समिति तथा विभिन्न दश वटा विभागहरु बनाएर तयारी भइरहेको छ । २५ राज्यबाट एक सय जनाभन्दा बढी सम्मेलनका प्रतिनिधिले सम्मेलनमा भाग लिने र नयाँ नेतृत्व पनि चयन गरिने महासचिव शंकर पन्तले जानकारी दिए।