काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बत्तीको रकम तिर्न बाँकी नरहेको मेयर बालेन्द्र शाहले बताएका छन् ।
महानगरले विद्युत् प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने विषयलाई प्रतिवाद गरेको छ।महानगरका मेयर शाहले यस बिषयमा फेसबुकमार्फत खण्डन गरेका हुन्।
महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत् महशुलमा कटौती गरेको दाबी गरेको थियो। सो दाबीपछि मेयर शाहले महानगरले महशुल तिर्न बाँकी नरहेको र भए पनि कर र महशुल साटासाट गर्ने विषय नभएको प्रस्ट गरेका छन्।
यस्तो मेयर शाहको फेसबुक स्ट्याटस :-
काठमाडौँ महानगरपालिकाले बिद्युत् प्राधिकरणको बत्तिको रकम दाखिला नगरेको भन्ने सम्बन्धमा देहाय अनुसार रहेको ब्यहोरा अनुरोध छ ।
१. काठमाडौँ महानगरपालिका काठमाडौँ महानगरवासीको सेवाका लागि स्थापित स्थानीय सरकार भएको र यसले गर्ने सबै कामहरू जनताको हित संरक्षण गर्ने कुरासँग सम्बन्ध राख्दछ । जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरूबाट सञ्चालन हुने संस्था भएकाले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ ।
२. नेपाल बिद्युत् प्राधिकरणले काठमाडौँ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएको महानगरपालिको कुनै कार्यालयको रकम नभएर सडक बत्तिको रकम भनिएको छ । कुन सडकमा कुन मिटरमा कहिले देखिको रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौँ महानगरपालिको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो बिषयमा उल्लेख गर्नु गैर जिम्मेवार काम हो ।
३. महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरवासीको रगत पसिनासँग जोडिएको छ । जनताले तिर्नु भएको कर, शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट सम्बन्धी निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ भने नेपाल सरकार तथा संवैधानिक निकायहरूबाट यसको लेखापरिक्षण गरिन्छ । यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नु पर्ने दायित्व रहन्छ ।
४. सडक बत्ती महानगरवासीले प्रयोग गर्ने हो । महानगर क्षेत्रबाट नेपाल बिद्युत् प्राधिकरणले आफ्नो आम्दानीको के कति रकम प्राप्त गर्दछ । यस क्षेत्रका उपभोक्ताप्रति उसको जबाफदेहिता रहन्छ/रहँदैन, सार्वजनिक जिम्मेवारीको आधारमा के गर्ने, के गर्नु पर्दछ, सो बिषयमा नेपाल बिद्युत् प्राधिकरण आफै जानकार छ ।
५. सार्वजनिक मठ मन्दिर, सडकबत्ति, सार्वजनिक स्थानमा बालेको वा बलेको बत्तिको रकम दाखिला गर भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्दछ ।
योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरू हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुई जना साथीहरूको सापटी रकम जसरी मिलान गर्न सकिँदैन । नियमसंगत हामी कर उठाउँछौँ भने नियम र वैधानिक कागजातसहित आएका महसुल चुक्ता गर्नेछौँ भन्ने अवगत गराउँदछौ ।