काठमाडौँ । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट टुङ्ग्याउन बनेको ११ सदस्यीय कार्यदलको बैठक आज पनि बस्दै छ ।
मंगलबारको बैठकले शीर्ष नेतृत्वबाट पाएको जिम्मेवारी अनुसारको प्रतिवेदन तयार पारेर शीर्ष नेतालाई बुझाउने तयारी थियो ।
तर बालुवाटारमा बसेको बैठकले आज (बुधबार) पुन: अर्को बैठक बसेर प्रतिवेदन तयार पारेर शीर्ष नेतालाई बुझाउने गरी बैठक टुङ्गिएको थियो ।
सूचना तथा सञ्चारमन्त्री समेत रहेका कार्यदल सदस्य ज्ञानेन्द्र बहादुर काकीले कार्कीले आफूहरूबिच सहमति भइसकेको र त्यसलाई लिपिबद्ध गर्न मात्र बाँकी रहेकोले सिटबाँटफाँटको अन्तिम रूप दिन आज साँझ ५ बजे बालुवाटारमा बैठक बस्न लागेको जानकारी दिए ।
काङ्ग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो । स्रोतका अनुसार काँग्रेसले ८६ सिटमा चित्त बुझाएको छ ।
कार्यदलमा काङ्ग्रेसबाट तीन र बाँकी दलबाट दुई/दुई जना सदस्य छन् । कार्यदलमा काङ्ग्रेसबाट महामन्त्री गगन थापा, कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।
यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्यमा छन् ।