काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन्।
बुधबार निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताएका हुन्।
प्रधानमन्त्री देउवाले देश किन विकसित हुन सकेन भन्नेबारेमा व्यापक छलफल हुन जरुरी रहेको बताए। कर्मचारीहरू दुर्गम क्षेत्रमा जान नचाहने कारण पनि काम अघि बढ्न नसकेको उनको भनाइ छ। स्थानीय, प्रदेश र केन्द्रीय कर्मचारीतन्त्र रहेको बेलामा समेत देश विकास हुन नसकेको उनले गुनासो गरे।
‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन। सत्य कुरा हो। अस्थायी सरकार हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ। यो देशको दुर्गति हुनुको जिम्मेवारी को हो ? राजनीतिक दलहरू मात्रै हो कि ब्युरोक्रेसी पनि हो ? किन काम भइरहेको छैन, अहिले यहाँ ? व्यापक छलफल गरौँ। हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो। तपाईंहरू त पेन्सनसम्म हुनुहुन्छ नि। काम नै भएको छैन, दुर्गति छ, देशको। यसको व्यापक छलफल हुन जरुरी छ। बाटो बन्दै, कर्मचारी जाँदैनन्, साइन गर्छन् फर्किहाल्छन्। बस्दै बस्दैनन्। त्यसकारण यसको व्यापक छलफल हुनुपर्छ। देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन,’ देउवाले भने।
कर्मचारीहरू नै स्थायी सरकार रहेको उल्लेख गर्दै राजनीतिक दलहरूले मात्रै गरेर केही नहुने प्रधानमन्त्री देउवाले बताए। अहिले देशको आम्दानी नहुँदा कर्मचारीहरूलाई पनि विदेशबाट पैसा मागेर दिनुपर्ने बेला आएको उनले बताए।
‘एउटा बाटो बनाउनु छ, २५ वर्षसम्म पुगेकै छैन। बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन तयार नै छ सरकार। देशभरको अवस्था त्यस्तै छ। पोलिसीले मात्रै केही हुनेवाला छैन, ब्युरोक्रेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन। स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ। पैसा नै छैन कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो,’ उनले भने।
ब्युरोक्रेसीले सहयोग नगरे कुनै पनि देश अघि बढ्न नसक्ने उनले बताए।
उनले अगाडि भने, ’ब्युरोक्रेसीको सहयोगबिना कुनै पनि देश अघि बढ्दैन। जनताको सेवा गर्ने पहिलो माध्यम त ब्युरोक्रेसी हो नि। उसले गर्दैन त कसरी देश बन्छ ? अस्पतालमा डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ, सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ। कर्मचारीको सहयोग नभइकन देश अघि बढ्दैन। सबै जिम्मेवार हुनुपर्छ। जनताले भोटले पत्याए हो नत्र त हामी गइहाल्छौँ नि। त्यही भएर तपाईंहरु काम गर्नुहोस्। के सुविधा चाहिन्छ, काम गर्दा हामी तयार छौँ,’ प्रधानमन्त्री देउवाले भने।
प्रधानमन्त्री देउवाले सबै ठाउँमा जिम्मेवार भएर काम गर्न कर्मचारीहरुलाई निर्देशनसमेत दिए। देश विकासका लागि काम गर्न कर्मचारीहरुलाई चाहिने सुविधा दिन सरकार तयार रहेको उनले बताए।