काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ ।
गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना हुन लागेको हो ।
प्रतियोगिताको पहिलो दिन चार खेलहरु हुनेछ । जसमा दुई खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र दुई खेल मुलपानी मैदानमा हुनेछ ।
टियु क्रिकेटमा हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।
पहिलो पटक राष्ट्रिय खेलकुदको क्रिकेटमा सहभागीता जनाएको एनआरएनको टोली जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ । यता,सुदूरपश्चिम प्रदेश पनि जित सहित प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।
टियुमै हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ बीच खेल हुनेछ । दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छन् ।
यस्तै मुलपानी मैदानमा हुने पहिलो खेलमा मधेस प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।मुलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्नेछन् ।
प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।