काठमाडौं। कमेडियन अपूर्व क्षितिज सिंह रिहा भएका छन्।
अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएपछि तारेखमा रिहा गरिएको काठमाडौंका सरकारी वकिल कार्यालय प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।
उनको वीर अस्पतालको कोभिड वार्डमा उपचार भइरहेको छ। साथै, अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
निश्चित एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो।
केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यङ्ग गरिएको थियो। सोही विषयलाई लिएर नेवार समुदायका व्यक्तिहरूले उजुरी दिएपछि सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
त्यसअघि सिंहले माफी माग्दै युट्युबबाट भिडियो हटाइसकेका थिए। उनले कसैमाथि अपमान गर्ने उद्देश्य नभएर रमाइलोका लागि मात्रै व्यंग्य गरेको प्रतिक्रिया दिएका थिए।