काठमाडौं। अष्ट्रेलियाले विदेशीले पाउने स्थायी आप्रवासनसम्बन्धी कोटा बढाएपछि त्यसको लाभ नेपालीहरूले पनि उठाउन सक्ने सम्भावना बढेको अष्ट्रेलियामा स्थायी बसोबास गरिरहेका नेपालीहरूले बताएका छन्।
उनीहरूका भनाइमा अष्ट्रेलियाले बढाएको कोटाको फाइदा दक्ष नेपालीहरूले पनि उठाउन सक्नेछन्।
देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक अष्ट्रेलियाले स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ।
चालु आर्थिक वर्ष (जुलाईदेखि जुनसम्म) मा अष्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५ हजारले बढाउँदै कुल एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति दिने भएको छ।
त्यसले दक्ष नेपाली जनशक्तिलाई अष्ट्रेलियामा स्थायी बसोबासका लागि थप सहज हुने गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका महासचिव राजुबाबु अधिकारी बताउँछन्।
अष्ट्रेलियाका दर्तावाला माइग्रेसन एजेन्ट समेत रहेका उनले उक्त प्रावधानले दक्ष नेपालीका लागि थप अवसरको ढोका खोलेको बताए।
उनका भनाइमा नेपालीको उपस्थिति धेरै भएकाले अष्ट्रेलियामा नेपालीहरूलाई व्यवस्थित हुनका लागि पनि सहज हुन्छ। कम खर्चिलो र नेपालबाटै स्थायी बसोबासका लागि आवेदन पनि दिन सकिने भएकाले दक्ष नेपालीहरूका लागि यो एउटा राम्रो अवसर हुनसक्छ।
मेलबर्नको एउटा स्वास्थ्य संस्थामा कार्यरत एकजना नर्स प्रतिभा थापा पनि यो दक्ष नेपाली जनशक्तिका लागि राम्रो अवसर भएको बताउँछिन्।
उनले भनिन्, ‘यहाँ अहिले चाहिने जति जनशक्ति छैन, स्वास्थ्य संस्थामा जति आवश्यक पर्ने हो त्यति सङ्ख्यामा मानिसहरू छैनन्। त्यसलाई पूर्ति गर्नका लागि आवश्यक मानिस खोजिएकाले दक्षता भएका नेपालीलाई यो राम्रो अवसर हो।’
अष्ट्रेलियामा पर्यटन तथा आतिथ्य, स्वास्थ्य सेवा, कृषि र सीपयुक्त दक्ष कामदार चाहिने उद्योगहरू बढी प्रभावित भएका छन्। इन्जिनियर, सूचना प्रविधि क्षेत्र र होटल एवम् रेस्टुरेन्ट क्षेत्रका दक्ष जनशक्तिले नेपालबाटै स्थायी बसोबासका लागि आवेदन दिन सक्छन्। स्वास्थ्य तथा चिकित्सा क्षेत्रका दक्ष जनशक्तिका लागि पनि अवसर रहेको छ।
दक्ष जनशक्तिलाई उनीहरूको दक्षता र अनुभवका आधारमा पाउने अङ्कभार अनुसार अष्ट्रेलियाले स्थायी बसोबास अनुमति दिने वा नदिने निर्णय गर्ने गर्छ। बीबीसी नेपालीबाट साभार