काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्व, २०७९ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले सो पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै शताब्दीयौँदेखि प्रचलनमा रहेका यस्ता मौलिक पर्वले प्राचीन सभ्यता एवं संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।
सन्देशमा उनले काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइने कुमारी इन्द्रजात्रा जस्ता मौलिक सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको पनि उल्लेख गरेकी छन्।