काठमाडौं। दार्चुलामा बाढीपहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने ४ बेपत्ता भएका छन्।
पहिरोमा परेर नौगाड गाउँपालिका–२ अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्की, महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको हो।
त्यस्तै, डुङुरीमा लास्कु खोलामा आएको बाढीले एकै घरका ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ।
दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार पहिरोले सल्लाका आठ घर पुरिएका छन् भने स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएर घाइते अवस्थामा उद्धार गरिएको छ।
उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ।