काठमाडौं। नेपाल टी–२० लिगका ६ मार्की खेलाडीको घोषणा गरिएको छ।
पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज क्रिकेट नेपाल टी–२० लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार ६ मार्की खेलाडीको घोषणा गरेको हो।
पोखरा एभेन्जर्सले मोहम्मद आशिफ शेख, लुम्बीनी अल स्टारले दीपेन्द्रसिंह ऐरी, काठमाडौं कान्तिपुरले ज्ञानेन्द्र मल्ल, फारवेस्टन युनाइटेडले करण केसी, विराटनगर सुपर किंग्सले रोहित पौडेल र जनकपुर रोयल्सले सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ।
सवैले ए समूहबाट मार्की खेलाडी अनुबन्ध गरेका हुन्। ए श्रेणीमा हुने खेलाडीले सिजनको १५ लाख पाउने छन्।
यस्तै पोखराले मार्की पछि ए समूहबाट शरद भेषावकरलाई अनुबन्ध गरेको छ।
नेपाल टी–२० लिग असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म काठमाडौंमा हुँदैछ।
दोस्रो राउन्डको ड्राफ्ट आइतबार हुनेछ। दोस्रो राउन्डमा ९२ खेलाडीबाट अनुबन्ध गर्नुपर्ने हुन्छ। बी ग्रेडमा २४ र सी ग्रेडमा ३६ खेलाडी अनुबन्ध हुनेछन्। एक फ्रेन्चाइज टोलीले बी बाट ४ र सी बाट ६ खेलाडी अनुबन्ध गर्न पाउँछन्।
प्रतियोगितामा ए ग्रेडमा रहेका खेलाडीले १५ लाख, बी ग्रेगमा रहने खेलाडीले १० लाख र सी ग्रेडमा रहने खेलाडीले ५ लाख रुपैयाँ न्यूनतम पाउने छन्। एक टोलीमा ११ नेपाली खेलाडी र ५ विदेशी खेलाडी रहनेछन्।