काठमाडौं। परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताएका छन्।
आइतबार मन्त्रालयमा हिमालपारि व्यापार सङ्घका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
मन्त्री खड्काले नाका सहज रूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षसँग पनि कुरा गरिरहेको जानकारी दिए। उनले चिनियाँ पक्षसँगको भेटमा नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने प्रतिबद्धता जनाए।
उनले दशैंभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने बताए। उनले सोमबार चिनियाँ जन काँग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मङ्गलबार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेकोसमेत उल्लेख गरे।
चिनियाँ स्थायी समिति अध्यक्ष लीसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने उनको भनाइ छ।