काठमाडौँ । नेपालमा पहिलो पटक द पोइट आइडल हुने भएको छ । आज काठमाडौँ पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको हो ।
द पोइट आइडका निर्देशक अमन प्रताप अधिकारीले नेपालमै पहिलो पटक द पोइट आइडल हुन लागेको घोषणा गरेका हुन् । जसमा साहित्यलाई फरक ढङ्गले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
बहुप्रतिभाशाली साहित्यकार एवम् गीतकार क्षेत्र प्रताप अधिकारीले नेपाली साहित्यलाई दिएको अतुलनिय योगदानलाई जीवन्त राख्नुका साथै स्थायित्व प्रदान गर्ने उद्देश्यका साथ आइडलको आयोजना गर्न लागिएको हो।
अधिकारीले नेपाली गीति साहित्यमा योगदान पुर्याउनुका साथै जापानी साहित्यका कृतिहरु नेपाली भाषामा अनुवाद गरेका थिए। धिकारीको सम्झनामा उनका छोरा अमन प्रताप अधिकारीले द पोइट आइडलको परिकल्पना गरेका हुन्।
उक्त कार्यक्रममा फरक क्षमताको नाप र तौल गरिने छ भने आफ्नो कवितालाई मौलिकरुपमा वाचन गर्ने शैलीलाई पनि प्रोत्साहन गरिएको छ । यस कार्यक्रम सहभागीहुनका लागि अनलाइन आवेदनको व्यवस्था गरिएको छ ।
द पोइट आइडलको अडिसन भाद्र २६ गतेबाट खुला भएको छ । कार्यक्रममा विश्वका जुनसुकै स्थानमा रहेका नेपाली कविले भाग लिन पाउनेछन्।
कार्यक्रम प्रतिस्पर्धी भएको हुनाले प्रतियोगीहरू छनोट प्रक्रिया सकिए पछि प्रतियोगीहरूलाई विषय प्रदान गरिने छ । प्रतियोगीहरूको पहिलो भेट क्रिएटिभ टिम सँग हुनेछ ।
कार्यक्रमको विभिन्न चुनौतीहरूलाई पार गर्दै अन्त्यमा भोटिङ मार्फत एक जना विजयी घोषित हुनेछन् ।
निर्णायक मण्डलमा कविद्धय विप्लव प्रतिक, उपेन्द्र सुब्बा, निर्देशक तथा रंगकर्मी अनुप बराल र नायिक सुरक्षा पन्त रहेका छन्। कार्यक्रमको सञ्चालन नायक दिव्य देव रहने छन्।