काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन आग्रह गरेको छ।
डेंगु रोगको जोखिम कम गर्नका लागि मन्त्रालयका सह–प्रवक्ता डा.समीरकुमार अधिकारीले सोमबार सूचना जारी गर्दै सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई कार्यालय आउँदा पूरा बाहुला भएको लुगा लगाउन अनुरोध गरेका हुन्।
मन्त्रालयले एडिज जातको लामखुट्टे प्रायः दिनको समयमा, विशेषगरी बिहान र बेलुका समयमा सक्रिय हुँदा यो जातको लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने हुनाले लामखुट्टेबाट बच्नलाई यस्तो आग्रह गरेको हो।
साथै, डेंगु सङ्क्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न पनि डा. अधिकारीले आग्रह गरेका छन्।
मन्त्रालयले डेंगु नियन्त्रणका लागि प्रदेश जिल्ला र स्थानीय तहसँगको समन्ययनमा डेंगु सार्ने लामखुट्टको लार्भा खोज र नष्ट गर अभियानलाई तीव्र बनाएको जनाएको छ।