काठमाडौं। पछिल्लो डेढ महिनामा पाँच जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ।
इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य रोग प्रमुख डा. गोकर्ण दाहालले यस अवधिमा डेंगु सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको बताए।
कैलाली, कान्ति, बाँकेस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज र मेडिसिटी अस्पतालमा एक÷एक जनाको मृत्यु भएको हो।
पछिल्लो केही महिनादेखि काठमाडौं र ललितपुरलगायत देशभर डेंगु सङ्क्रमण बढ्दो क्रममा छ। हालसम्म ७५ जिल्लाबाट आठ हजार ३२७ जना डेंगु सङ्क्रमित पुष्टि भइसकेको छ।
डेंगु सबैभन्दा बढी बागमती प्रदेशमा ६ हजार २०५ जना, लुम्बिनी प्रदेशमा १ हजार २८४, सुदूरपश्चिम प्रदेशमा २०६, प्रदेश १ मा २८२, मधेस प्रदेशमा १४४, गण्डकी प्रदेशमा १५०, कर्णाली प्रदेशमा ५६ जनामा डेंगु पुष्टि भएको छ।
सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ।