काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिले आज बयान सक्ने भएको छ। समितिले जबरालाई बयानका लागि दिउँसो १ बजे बोलाएको छ।
बैठक भने बिहान ११ बजे बोलाइएको समितिका सभापति रामबहादुर विष्टले जानकारी दिए। सिफारिस समितिले जबरासँग हालसम्म ३५ वटा प्रश्नको जवाफ लिएको छ। जबराविरुद्ध ४३ वटा उजुरी परेका छन्। ती सबै उजुरीको जवाफ समितिले लिइरहेको छ।
जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाभियोग दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा छन्।
समितिले आज बयान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ। गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय सिफारिस समिति गठन गरेका थिए। त्यसको ६ महिनापछि मात्रै समितिले काम थालेको थियो।
समितिको अहिलेसम्म चारवटा मात्रै बैठक बसेको छ। चारवटा बैठकमा समितिले जबरासँग बयान लिइरहेको छ। बयानका क्रममा उनले राजनीतिक दलका शीर्ष नेता र आफ्नै सहकर्मीलाई आरोप लगाएका छन्। त्यस्तै उनले आफूविरुद्धको महाभियोगको औचित्य नै नभएको बताउँदै आएका छन्।
संसदको आयु अब तीन दिन मात्र बाँकी हुँदा महाभियोग के हुने भन्ने अझै अन्योल छ। महाभियोग के हुन्छ भन्नेमा कानुन व्यवसायी नै विभाजित छन्। एक पक्षले अब यो स्वतः निस्क्रिय हुने बताउँदा अर्को पक्षले यो अर्को संसदले पनि गर्नेसक्ने दाबी गरेका छन्।