काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सकिएको छ।
महाअभियोग सिफारिस समितिले मंगलबार निलम्बित प्रधानन्यायाधीश जबराको बयान सकेको हो। समितिले गत भदौ १५ गतेबाट बयान लिन सुरू गरेको थियो। जबराको बयानमा प्रतिप्रश्न गर्न समितिले उनलाई फेरि बोलाउने छ।
समितिले जबरालाई विभिन्न विषयमा ४३ वटा प्रश्न सोधेको थियो। जबराले बयानका क्रममा नाम लिएकाहरूसँग महाभियोग सिफारिस समितिले बुधबार छलफल गर्ने समिति सदस्य मीनबहादुर विश्वकर्माले बताए। समितिको बैठक बुधबार बिहान ९ बजे बस्नेछ।
विश्वकर्माले ढिलोमा असोज १ गतेसम्म महाअभियोगबारे समितिले काम सक्ने बताए।
जबराले राजनीतिक भागबण्डा खोजेको भन्दै गत फागुन १ मा सत्ता गठबन्धनका ९८ सांसदले महाअभियोग दर्ता गरेका थिए। त्यसपछि उनी निलम्बनमा छन्।
गत फागुन २९ गते सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय सिफारिस समिति गठन गरेका थिए।